जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो

काठमाण्डौ । ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले बेलुका भोटो देखाएसँगै नेपालको सबैभन्दा लामो सांस्कृतिक–धार्मिक पर्व औपचारिक रूपमा सम्पन्न भएको छ ।

मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौंथो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो । भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन शाह लगायतका उच्च पदस्थ व्यक्तिहरू पुगेका थिए ।

मणिमणिक्य जडित भोटो अवलोकन गर्न बेलुकीसम्म जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको छ । वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा राखी पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो ।

रथ जावलाखेल पुगेको चौथो दिन भोटो प्रदर्शन गर्ने प्रचलन छ । जात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखी बुंगमती लगिनेछ भने मिननाथलाई रथमै राखेर पाटनको टंगल टोलस्थित मन्दिरमा लगिनेछ ।

यस अवसरमा उपत्यकाभरबाट आएकाहरू जावलाखेलमा भोज खाने प्रचलन छ । तर जावलाखेल चिडियाखानामा रहेका केही जनावरमा बर्डफ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना हिजोदेखि अनिश्चितकालका लागि बन्द गरिएकाले यसपालि भोज खेलमैदानमा मात्रै खानुपर्ने बाध्यता छ । चिडियाखाना परिसर आज सुनसान छ ।