आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा
काठमाण्डौ । ललितपुरको जाउलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज हुँदैछ । रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले आज भोटो देखाएपछि औपचारिक रूपमा जात्रा सम्पन्न हुनेछ ।
नेपालको सबैभन्दा लामो सांस्कृतिक–धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको भोटो आज दिउँसो ४ बजेपछि देखाउने तयारी छ । भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिलाई प्रदर्शन गर्ने गरिन्छ । वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो ।
यसैक्रममा रथलाई जावलाखेल पु¥याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको छ । आजै भोटो जात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ । साथै मिननाथलाई भने रथमै राखेर पाटनको टंगल टोलमा रहेको मन्दिरमा लगेर राखिनेछ ।
रातो मच्छिन्द्रनाथको भोटो जात्राका दिन उपत्यकाका विभिन्न ठाउँबाट आएकाहरु ललितपुरको जावलाखेलमा आएर भोज खाने प्रचलन छ । विगतका वर्षमा आजका दिन चिडियाखाना र जावलाखेल खेलमैदानमा भोज खाने गरेपनि यसपाली भने खेल मैदानमा मात्रै भोज खानुपर्ने बाध्यता छ ।
जावलाखेलको सदर चिडियाखानामा रहेका केही जिवजन्तुमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना हिजोदेखि अनिश्चीतकालका लागि बन्द गरिएको छ । चिडियाखाना परिसर आज सुनसान छ । चिडियाखानामा विशेषगरी नयाँ वर्षको दिन र भोटो जात्राको दिन उल्लेखनिय भिड लाग्ने गर्छ ।

