भैरहवाबाट हङकङ र दिल्लीका लागि हप्ताको एक दिन उडान गर्दै वायुसेवा निगम

काठमाण्डौ । नेपाल वायुसेवा निगमले आज मंगलबारदेखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्ली उडान सुरु गरेको छ ।

भैरहवाबाट हङकङ र दिल्लीका लागि हप्ताको एक एक दिन उडान गर्ने निगमले जनाएको छ । अहिले हप्ताको एकदिन उडान गरेर माग र निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या थप्दै लगिने निगमको भनाइ छ । सुरुवातमा हरेक मंगलबार यसरी उडान हुने एयरलाइन्सले उल्लेख गरेको छ । नेपाल एयरलाइन्सले सार्वजनिक गरेको उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौँ अवतरण गर्नेछ ।

यात्रुहरू हङकङ र दिल्लीको उडानमा नेपाल एयरलाइन्सकै ‘कनेक्टिङ फ्लाइट’मा चढ्नेछन् । तर उनीहरुलाई भैरहवामा बोर्डिङ पास लिंदा नै गन्तव्यसम्मको बोर्डिङ् पास दिइने छ र लगेज पनि सिधै गन्तव्यसम्म पुर्याइने छ । भैरहवाबाट हुने उडानका लागि गत साउन १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँलाई ट्रान्जिट बनाएर उडान जानकारी दिएको छ ।