काठमाडौं आजपनि विश्वकै सर्वाधिक प्रदूषित सहरको मुख्य सूचीमा

काठमाडौं । काठमाडौं आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै सर्वाधिक प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) एक सय ६२ पुगेको छ ।

एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रूपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ । यसैगरी इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ ।

सुख्खा यामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण पनि बढिरहेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ ।

डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलोसँगै प्रदूषण पनि बढिरहेको जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार केही स्थानमा छिटपुट वर्षा भए पनि तत्कालका लागि राम्रो वर्षाको सम्भावना छैन ।

बढ्दो वन डढेलोका कारण वायु प्रदूषण पनि बढिरहेको भन्दै वन डढेलो जतिसक्दो छिटो नियन्त्रण गर्न नसके प्रदूषण बढेर आपत्कालीन अवस्थामा पुग्ने भनेर वातावरण अभियन्ता राजन थापाले भनेका छन् । काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्यूआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्का रुपमा लिने बताएको छ ।

यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने उल्लेख गरिएको छ ।