युद्धविराम सम्झौता स्वीकार गर्न हमासलाई अमेरिकी विदेशमन्त्रीको आग्रह

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायली नेतृत्वसँग वार्ता शुरु गर्दै प्यालेस्टिनी विद्रोही समूह हमासलाई युद्धविराम सम्झौता स्वीकार गर्न पुनः आह्वान गर्नुभएको छ ।

बुधवार इजरायली राष्ट्रपति इसाक हर्जाेगसँगको भेटमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले हमासलाई युद्धविराम सम्झौता स्वीकर गर्न आह्वान गर्नुभएको बीबीसीले जनाएको छ ।

उहाँले इजरायल–हमास सम्झौताका लागि वातावरण बनाउन अमेरिका कटिबद्ध रहेको र युद्धविरामले बन्धकहरूलाई घर फर्काउन वातावरण बनाउने बताउनुभएको खबरमा उल्लेख छ । हमासकै कारण युद्धविरामको वातावरण नबनेको उहाँको भनाइ छ ।

इजरायल भ्रमणका क्रममा ब्लिन्केनले गाजा पट्टीमा सहायता बढाउन प्रयास गरिरहनुभएको छ भने संयुक्त राष्ट्र सङ्घले खाद्यान्नको चरम अभावका कारण अनिकालको चेतावनी दिएको छ ।

हिजो ब्लिन्केनले इजरायल र गाजाको बीचमा भर्खरै खोलिएको एरेज सीमातर्फ खाद्यान्नलगायत अन्य आधारभूत सहायता सामग्री बोकेका ट्रक र सहायताकर्मीलाई बिदाइ गर्नुभएको छ ।