ललितपुरको वनमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको पनि मृत्यु

काठमाण्डौ । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलमा रहेको तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको पनि उपचारका क्रममा ज्यान गएको छ ।

कीर्तिपुरको जलन अस्पतालमा उपचारका क्रममा स्थानीय रमेश पहरीको आज (बुधबार) बिहान ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

यसअघि हिजो (मंगलबार) स्थानीय शंकर पहरीको उपचारकै क्रममा ज्यान गएको थियो । हिजो दिउँसो डढेलो निभाउनेक्रममा रमेश र शंकर घाइते हुनुभएको थियो ।

वनमा फैलिएको डढेलो अझै नियन्त्रणमा नआएपनि वस्तीमा फैलिने जोखिम टरेको र आवश्यक सतर्कता अपनाइएको प्रहरीको भनाइ छ ।