देशमा लगानी भित्र्याउने भए श्रमलाई उपेक्षा नगरौँ : जिफन्ट अध्यक्ष श्रेष्ठ

काठमाण्डौ । नेपाल ट्रेड यू्रनियन महासंघ (जिफन्ट)ले ‘मे दिवस २०२४’ को सन्दर्भमा घोषणपत्र सार्वजनिक गरेको छ । सोमबार पुतलीसडकस्थित जिफन्टको कार्यलय मनमोहन मजदुर भवनमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले श्रम अडिट प्रतिवेदन २०८० समेत सार्वजनिक गर्‍यो ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले देशमा लगानी भित्र्याउने भए श्रमलाई उपेक्षा गर्न नहुने बताउनुभयो । श्रम ऐन कार्यान्वयनको तुलनात्मक अध्ययन गर्न जिफन्टले यूनियनमा क्रियाशील रहेका प्रतिष्ठानहरु केन्द्रित गरी श्रम अडिट विश्लेषण गर्दै आएको उहाँले बताउनुभयो ।

यस वर्ष उत्पादनमूलक उद्योग/प्रतिष्ठान, जुट, गार्मेन्ट, टेक्सटाइल, होटल, टे्रकिङ्ग, प्रिन्टिङ्ग प्रेस, सहकारी, सरकारी स्वमित्वका प्रतिष्ठान, अस्पताल र श्रमिक आपूर्तिकर्ता कम्पनीहरु गरी कुल १५७ प्रतिष्ठानमा श्रम ऐन कार्यन्वयनको अवस्था अध्ययन/विश्लेषण गरिएको थियो ।

प्रतिवेदनमा जनाइएअनुसार यो वर्ष श्रम अडिट गरिएका प्रतिष्ठानमा ५९.७२ प्रतिशत श्रमिक नियमित रोजगारीमा कार्यरत रहेका छन् । यो वर्ष नियमित श्रमिक संख्या गत वर्षकोभन्दा बढेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी देशमा विद्यमान रोजगारीको अवस्थाका बारेमा पनि विश्लेषण गरिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार मौलिक हक सुनिश्चित गर्न श्रम ऐन २०७४, लामो समय अगाडि नै कार्यान्वयनमा आइसकेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले श्रम कानुनको गलत प्रयोग भएको पनि बताउनुभयो । श्रम ऐनको मनसाय विपरीत श्रम अडिट नै नगर्ने र गरिहाले पनि औपचारिक रुपमा गर्ने प्रवृत्ति रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष श्रेष्ठले मे दिवसमा प्रदेश तथा पालिकातहमा र श्रमिकहरुको घनत्व भएको ठाँउमा पनि कार्यक्रम गर्ने बताउनुभएको छ । श्रमिक जता भएपनि जिफन्ट त्यहाँ पुग्न सक्ने र उनीहरुलाई सामाजिक सुरक्षमा आवद्ध गराउन हर सम्भव सहयोग गर्ने उहाँले बताउनुभयो ।

जिफन्टले यो वर्षको मे दिवस “नयाँ सामाजिक सम्झौताको लागि सुदृढ, लोकतन्त्र, सामाजिक सुरक्षा र मर्यादित रोजगारीसहितको अर्थतन्त्र” भन्ने नाराकासाथ देशभरि मनाउन गइरहेको छ ।