विदेशी लगानीकर्तालाई दोहोरो करबाट मुक्त रहने व्यवस्था छ ः प्रधानमन्त्री
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्त रहने व्यवस्था, बौद्धिक सम्पती अधिकारको संरक्षण, प्रतिष्पर्धात्मक कर्पोरेट कर लगायतमा प्रोत्साहन प्रदान गरेको बताउनु भएको छ ।
आईतवारबाट काठमाडौंमा शुरु भएको दुई दिने लगानी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौता (बिआइए) को ढाँचालाई स्वीकृत गरेको र यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले चाँडोभन्दा चाँडो ‘बिआइए’ मा हस्ताक्षर गन पनि आग्रह गर्नुभयो ।
उहाँले नेपालका उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले राष्ट्रिय एवं सबै ‘एफडीआई’ बीच हुने गैर–भेदभावपूर्ण व्यवहारको प्रावधान र विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले नेपालमा लगानीको आकर्षणलाई अझ बढाउने बताउनुभयो ।
उहाँले नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधार एवं उच्च मूल्यका बाली उत्पादनलगायत विभिन्न क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “नेपालले विदेशी लगानीकर्ताहरूलाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्त रहने व्यवस्था, बौद्धिक सम्पती अधिकारको संरक्षण, प्रतिष्पर्धात्मक कर्पोरेट कर लगायतका धेरै प्रोत्साहनहरू प्रदान गरेको छ। सरकारले हालै द्विपक्षीय लगानी सम्झौता (बिआइए) को ढाँचालाई स्वीकृत गरेको छ, यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ। म हाम्रा सबै मित्र राष्ट्रहरूलाई चाँडोभन्दा चाँडो ‘बिआइए’ मा हस्ताक्षर गर्न प्रोत्साहित गर्दछु। हाम्रा उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्छ। हाम्रो दक्ष जनशक्ति र कम श्रम लागतले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको लागि आकर्षण गर्दछ ।”
प्रधानमन्त्री दाहालले पर्यटन उद्योग अर्थतन्त्रको महत्वपूर्ण योगदानकर्ता रहेको उल्लेख गर्दै पर्यटन क्षेत्रमा लगानी बढाउन सकिने भन्दै सूचना प्रविधि र कृषिमा लगानी गर्न आग्रह समेत गर्नुभयो ।