लगानी सम्मेलन ः द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन र डाटा सेन्टर निर्माणका लागि सम्झौता
काठमाण्डौ । तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आईतबार दुईवटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटन सत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो ।
सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासघं र मलेशियन नेशनल चेम्बर अफ कमर्सबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको छ । महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले हस्ताक्षर गर्नुभएको हो ।
त्यसैगरी डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि नेपाल र भारतका दुई व्यावसायिक समूहबीच सम्झौता भएको छ । डाटा सेन्टर स्थापनाका लागि बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस भारतबीच सम्झौता भएको हो ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धेरै क्षेत्रहरूमा लगानी सम्भावना रहेकाले नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने बताउनुभएको छ । लगानी सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरूमा लगानीको सम्भावना रहेको बताउनुभयो ।
विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतको बीचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिनसक्ने उहाँले बताउनुभयो । देशमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासघंले निरन्तर पहल गरिरहेको पनि उहाँले बताउनुभयो ।