ह्वासिन सिमेन्टमा थप ६ अर्ब बढीको लगानी स्वीकृत
काठमाण्डौ । लगानी बोर्डले ह्वासिन नारायणी सिमेन्ट परियोजनाको लागि रु. ६ अर्ब ६३ करोड ४० लाख थप लगानी स्वीकृत गरेको छ।
चिनियाँ ह्वासिन सिमेन्टको लगानीमा रहेको यो कम्पनीमा थप पूँजी लगानी गर्न ह्वासिनले प्रस्ताव गरेको थियो । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार बसेको बोर्डको बैठकले लगानी स्वीकृत गरेको हो ।
बोर्ड बैठकले वैशाख १६–१७ मा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेश गरिने, मार्केट साउन्डिङ गरिने विभिन्न परियोजनाहरूको सूची पनि स्वीकृति गरेको छ ।
बैठकले डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई परियोजना लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधीकरणका लागि नौ अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानीका लागि प्रस्ताव गरेको छ ।यस अनुसार उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्यांकन पश्चात वार्ता प्रक्रिया अगाडि बढाइएको बोर्डले जनाएको छ ।
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी सम्मेलनको तयारीको सम्पूर्ण पक्षको विषयमा जानकारी गराएका थिए ।
बैठकमा प्रधानमन्त्री दाहालले सम्मेलन औपचारिकतामा मात्र सीमित हुन नदिन प्रस्तुत गरिने परियोजनाहरू इच्छासूचीको रूपमा मात्र प्रस्तुत गरिन नहुने बताउनुभयो । उहाँले लगानी सम्मेलनलाई नतीजामुखी र प्रभावकारी बनाउन स्वदेशी तथा विदेशी निजी क्षेत्रबाट हुने स्वपूँजी तथा ऋण परिचालनलाई सहजीकण गर्न मन्त्रालयहरूले विशेष एकाइ नै बनाएर अगाडि बढ्न निर्देशन दिनुभयो ।
सार्वजनिक र निजी क्षेत्रको साझेदारीबाट मात्र मुलुकको समृद्धि हासिल हुने भन्दै निजी क्षेत्रलाई सुविधा दिन पुरातन सोच, पुरातन नीतिगत र कानूनी व्यवस्थाबाट सम्भव नरहेकाले नै सरकारले लगानीका अवरोध हटाउन कानून संशोधनको कार्य अगाडि बढाएको पनि उहाँले बताउनुभयो । लगानी सम्मेलनको पूर्वसन्ध्यामा सोमबार मन्त्रिपरिषद्ले विभिन्न कानूनलाई अध्यादेश मार्फत संशोधन गर्ने निर्णय गरेको थियो ।