श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या झण्डै साढे पाँच लाख पुग्यो
काठमाण्डौ । रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको सङ्ख्या चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा साढे पाँच लाखको आसपास पुगेको छ । चालु आवको साउनदेखि चैत महिनासम्म रोजगारीका लागि पाँच लाख ४२ हजार १७३ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले बताएको छ ।
चालु आर्थिक वर्षको नौ महिनायता नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ । चालु आर्थिक वर्षको नौ महिनामा पाँच लाख ४२ हजार १७३ जनाले श्रम स्वीकृति लिएकामा युएईका लागि एक लाख ३७ हजार ९८१ जनाले श्रम स्वीकृति लिएको विभागले जानकारी दिएको छ ।
अघिल्लो वर्षहरुमा तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । चैत महिनाको तथ्याङ्क हेर्दा दोस्रोमा साउदी अरब छ भने तेस्रो श्रम गन्तव्य देश कतार बन्न पुगेको छ ।
दुई वर्ष अघि नेपालीको पहिलो श्रम गन्तव्य बनेको देश मलेसिया अहिले चौथो श्रम गन्तव्य देश बनेको छ । सोही अवधिमा दक्षिण कोरियाका लागि १० हजार २०९ जनाले श्रम स्वीकृति लिएका छन् ।
विभागका महानिर्देशक डण्डुराज घिमिरेले चालु आर्थिक वर्षको सुरुदेखि नै युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको जानकारी दिनुभयो । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै ती श्रमिकले विदेशमा काम गरेर पठाउने विप्रेषण दरमा पनि वृद्धि भएको उहाँले बताउनुभयो ।
नेपाल राष्ट्र बैङ्कले गत महिना सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको आठ महिना (फागुन महिना) सम्म नौ खर्ब ६१ अर्ब रुपैयाँ विप्रेषण नेपाल भित्रिएको छ । गएको वर्ष सात खर्ब ९४ अर्ब रुपैयाँ देश भित्रिएको थियो र विप्रेषण भित्रिने दरमा पनि २१ प्रतिशतले वृद्धि भएको छ ।