गाजाको खान युनिस अस्पतालमा दुई सयभन्दा बढी सामूहिक चिहानबाट शव फेला
काठमाण्डौ । गाजाको खान युनिसको नासेर अस्पतालबाट अहिलेसम्म दुई सय जनाको शव निकालिएको छ ।
गाजामा विद्रोही समूह हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीकाअनुसार यी शवहरू सामूहिक चिहानमा गाडिएको अवस्थामा फेला परेको हो । शवहरूलाई अस्पतालको छेऊमा गाडेको पाइएको बीबीसीले जनाएको छ ।
उक्त अस्पताललाई इजरायली सेनाले नियन्त्रणमा लिएको थियो । इजरायली सेनाले नियन्त्रणमा लिएका धेरै व्यक्तिहरुको हत्या भएको हमासले दावी गरेको छ ।
इजरायलले अस्पतालमा शव फेला परेको विषयमा थप अनुसन्धान गरिरहेको खबरमा उल्लेख छ । खान युनिस अस्पताल वरपरको क्षेत्रमा केही हप्तासम्म भएको युद्धपछि इजरायली सेनाहरू दुई हप्ता अघि त्यहाँबाट पछि हटेका थिए ।
सन् २०२३ को अक्टोबरमा इजरायलमा हमासले आक्रमण गरेदेखि इजरायली सेनाले गाजामा व्यापक सैन्य कारबाही गरिरहेको छ ।