कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति पौडेल आफैँ जानुहुने

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर सेख तमिम बिन हमाद अल थानी आज (मङ्गलबार) नेपालको राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति पौडेल आफैँ त्रिभुवन विमानस्थल पुग्नुहुने छ ।

आफ्नै विमानमार्फत उहाँ आज साँझ करिब साढे ५ बजे नेपाल उत्रने कार्यसूची छ । त्यसका लागि तीनै तहको सुरक्षा व्यवस्थालाई सतर्क राखिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताउनुभयो ।

आज मङ्गलबार नै राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर सेख तमिमको उच्चस्तरीय भेटवार्ता हुने छ । साथै उहाँको स्वागतमा राष्ट्रपति पौडेलले रात्रिभोजको आयोजना गर्नुहुने छ । भोलि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमिर सेखबिच द्विपक्षीय भेटवार्ता हुने छ ।

उहाँका अनुसार भ्रमणका क्रममा शिक्षा र खेलकुद क्षेत्रसँग सम्बन्धित केही सम्झौता हुने र आगामी दिनमा हुने अन्य श्रम सम्झौता, पर्यटन तथा विकास साझेदारीका विषयमा पनि गहन छलफल हुने छ । भेटवार्तापछि प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर सेख तमिमको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । उहाँ भोलि (बुधबार) राती फर्कनुहुने छ ।