रफाहमा इजरायली आक्रमणमा परी १३ को मृत्यु

दक्षिणी गाजा सहर रफाहमा भएको इजरायली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

कुवेती अस्पतालका अनुसार पहिलो आक्रमणमा एक पुरुष, उनकी पत्नी र उनीहरूको तीन वर्षीय बालकको मृत्यु भएको छ । अस्पतालले महिला गर्भवती रहेको र चिकित्सकहरू बच्चालाई बचाउन सफल रहेको बताएको छ ।

अस्पतालको रेकर्डअनुसार दोस्रो आक्रमणमा एउटै परिवारका आठ बालबालिका र दुई महिलाको मृत्यु भएको छ । अघिल्लो रात रफाहमा भएको हवाई आक्रमणमा छ बालबालिकासहित नौ जना मारिएका थिए ।

स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायल–हमास युद्धमा ३४ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् भने गाजाका दुई सबैभन्दा ठुला सहर ध्वस्त भएका छन् र सम्पूर्ण क्षेत्रमा विनाश भएको छ । करिब ८० प्रतिशत जनसंख्या आफ्नो घरबाट भागेर घेरिएको तटीय क्षेत्रका अन्य भागमा गएका छन् ।

इजरायलले कब्जा गरेको वेस्ट बैङ्कमा पनि तनाव बढेको छ । इजरायली सेनाका अनुसार सैनिकहरूले आइतबार बिहानै दक्षिणी वेस्ट बैङ्क सहर हेब्रोन नजिकै एक जाँच चौकीमा चक्कु र बन्दुकले आक्रमण गर्ने दुई प्यालेस्टिनीलाई ‘निष्क्रिय’ बनाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा युद्ध सुरु भएपछि वेस्ट बैङ्कमा इजरायली सैनिक र बसोबास गर्नेहरूबाट कम्तीमा चार सय ६९ प्यालेस्टिनी मारिएका छन् । अधिकांश मानिस इजरायली सैन्य गिरफ्तारी छापा मार्ने क्रममा मारिएका छन् । रासस