मौसम खबर : लगातारको झरी आजदेखि बिस्तारै कम हुने

काठमाण्डौ । हाल कोशी, मधेस, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि परेको लगातारको झरी आजदेखि बिस्तारै कम हुँदै जाने मौैसमविद्ले बताएका छन् ।

आज दिउँसोपछि काठमाण्डौ उपत्यकासहित देशका पश्चिमी क्षेत्रमा मौसममा सुधार आउने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार गण्डकी र लुम्बिनीसहित पूर्वका केही क्षेत्रमा मौसम बदली नै छ ।

यस्तै पूर्वी क्षेत्रमा मौसम सुधार हुन केही दिन लाग्ने छ । कोशी, मधेस र बाग्मतीमा बदली र हल्का वर्षाको सम्भावना छ । तर निरन्तर पानी पर्ने क्रम अब बिस्तारै कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोसी र मधेस प्रदेशका एक–दुई स्थानमा भने मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती भने कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।