जारी महिला टी–२० शृङ्खलामा नेपाल मलेसियासँग पराजित

काठमाण्डौ ।  मलेसियामा जारी महिला टी–२० शृङ्खलामा नेपाल घलेलु टोलि मलेसियासँग पराजित भएको छ ।

४ देश सम्मिलित महिला टी–२० शृङ्खलामा आज (शुक्रवार) मलेसियाको बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले दिएको ८४ रनको सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटाएको हो ।

मलेसियाका लागि अइना हमिजा हशिमले नटआउट ३७ र माहिराह इजाती इस्मेलले २१ रन बनाइन् । बलिङतर्फ नेपालकी कप्तान रुबिना क्षेत्री, पूजा महतो र सीता राना मगरले १/१ विकेट लिइन् ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो । वर्षाका कारण २० ओभरको खेल १८ ओभरमा झारिएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३, इन्दु बर्माले २० र विकेटकिपर काजल श्रेष्ठले १८ रन बनाइन् ।
बलिङतर्फ मलेसियाकी अइना हमिजा हशिम, नुर दानिया स्युहादा र माहिराह इजाती इस्मेलले २/२ विकेट लिइन् ।

 

यस्तै मलेसियासँग हारे पनि नेपाल ४ देश सम्मिलित महिला टी–२० शृङ्खलाको फाइनलमा पुगेको छ । नेपाल ३ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । यस्तै हङकङ पनि उतिनै खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको छ ।

मलेसियाले ४ अङ्क जोडे पनि नेट रनरेटमा पछाडि पर्दा फाइनल पुग्न सकेन । फाइनल खेल भोलि शनिवार हुनेछ । भोलि नै मलेसिया र ३ खेलमै अङ्कविहीन रहेको कुवेतबीच तेस्रो र चौथो स्थानका लागि खेल हुनेछ ।