दुई हप्तादेखि पोर्चुगलको समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटियो
काठमाण्डौ । पोर्चुगलको समुद्रमा दुई हप्तादेखि बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो ।
तामाङको शव पोर्चुगलको राजधानी लिस्बनको तेरेइरो डो पासोको फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवम् पत्रकार प्रबल भट्टराईले जानकारी दिनुभयो ।
उहाँका आनुसार केही दिनअघि नै भेटिए पनि हिजो मात्रै परिचय खुलेको थियो । गएका अप्रिल ६ तारिखमा सामुद्रिक खाना खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धनबहादुर तामाङ पनि डुबेर ज्यान गएको थियो ।