ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार

काठमाण्डौ । ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारीएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले बताउनु भएको छ ।
ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताउनुभएको हो । सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउँले आज यहाँ आयोजना गरेको ‘लागूऔषध दुर्व्यसनी तथा साइबर अपराध न्यूनीकरणसम्बन्धी अन्तरक्रिया’मा उहाँले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताउनुभएको हो ।

उहाँले पछिल्लो समय राजधानी काठमाडौँसहित देशभर लागूऔषध दुव्यर्सनी र साइबर अपराधको घटना बढेको भन्दै यसलाई नियन्त्रणका लागि काठमाडौँ प्रहरीले काम गरिरहेको उल्लेख समेत बताउनु भएको छ । चालू आर्थिक वर्षमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने तीन हजार सात सय मुद्दा दर्ता काठमाडौँ प्रहरीमा दर्ता भएको उहाँको भनाइ छ । यस्तै, लागूऔषध दुव्यर्सनीसम्बन्धी देशभर चार हजारभन्दा बढी मुद्दा दर्ता भएको एसएसपी खत्रीले बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं ४ का वडाअध्यक्ष दिनेश महर्जनले विस २०८१ सालमा वडाभित्रका बिग्रेका सबै सडकहरु कालोपत्र गरिसक्ने बताउनुभयो । उहाँले लागूऔषध दुव्र्यसन र साइबर अपराधमा सजग रहन विद्यार्थीलाई आग्रह गर्नुभयो ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवीलगायतको क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताउनुभयो ।