मौसम खबर : देशभर हल्कादेखि मध्यम खालको वर्षा, कतै भारी वर्षा हुने
काठमाण्डौ । हाल नेपालमा मनसुन सक्रिय रहेको छ । देशभर हिजोदेखि नै वर्षा भइरहेको छ । आज र भोलि पनि देशभर वर्षा भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभर नै बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् गंगा नगरकोटीले बताउनु भएको छ । साथै गण्डकी, बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने उहाँको भनाई छ ।
यस्तै काठमाडौं उपत्यकामा दिउँसो केहीबेर वर्षा रोकिए पनि बादल नहट्ने र अपराह्न पछि फेरि पानी पर्ने सम्भावना रहेको महाशाखाले बताएको छ । शनिबारदेखि मात्र मौसममा क्रमिक सुधार हुने महाशाखाले भनेको छ ।
यस्तै आज राति वर्षाको मात्रा अझै बढ्ने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।