प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताको छलफल निष्कर्षविहीन टुंगियो

काठमाण्डौ । संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेतासँग गरेको छलफल निष्कर्षविहीन नै टुंगिएको छ । उक्त बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडान कायमै राखेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले अहिलेसम्म संसद अवरोध नगरेर सदासहायतापूर्वक माग राखेको भएपनि सरकार गैरजिम्मेवारपूर्ण तरिकाले प्रस्तुत भइरहेको टिप्पणी गर्नुभयो । गृहमन्त्रीमाथिको छानबिनको मागबाट आफूहरू पछि नहट्ने उनको प्रष्टोक्ति थियो । अबका संसदीय कारबाही अवरुद्ध भए सरकारले जिम्मा लिनुपर्ने लेखकले चेतावनीसमेत दिनुभयो ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले राजनीतिक कांग्रेसको माग राजनीतिक पूर्वाग्रहले प्रेरित भएको टिप्पणी गर्नुभयो । उहाँले बैठकलाई सहज बनाउन आफूहरूले कांग्रेसलाई आग्रह गरेको सुनाउनुभयो ।

बैठकपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे कांग्रेसको माग सही मान्न नसकिने बताउनुभयो । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले पहल कदमी लिएपनि बैठक सहमतितर्फ अघि नबढेको बताउनुभयो ।