काठमाण्डौ महानगरमा गरिब घरपरिवार गणना शुरु
काठमाण्डौ । गरिब घरपरिवार गणना अन्तर्गत अन्तिम पालिकाको रुपमा काठमाण्डौ महानगरपालिकामा गणना शुरु भएको छ ।
काठमाण्डौ महानगरमा आजदेखि गरिब घरपरिवार गणना शुरु भएको हो । यसअघि सात सय ५२ वटा पालिकामा गणना भइसकेको छ ।
गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार २०७० सालदेखि गणना शुरु भएको हो ।
सरकारले ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र बाँडिसकेको र १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गणेशप्रसाद भट्टले जानकारी दिनुभयो ।
काठमाण्डौ महानगरको गणना सकेपछि बाँकी १३ जिल्लामा पनि परिचयपत्र बाँड्ने कार्यक्रम शुरु गर्ने उहाँले बताउनुभयो । काठमाडौं महानगरपालिकाभित्र गरिब पहिचान गर्न दुई सय नौ जना गणक र २१ जना सुपरिवेक्षक खटिएका छन् । उनीहरुले ट्याब्लेटमा विभिन्न विवरण भर्दै तथ्याङ्क सङ्कलन गर्नेछन् ।