कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य : देउवा

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी अघि बढ्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ । मुलुकमा विद्यमान राजनीतिक अस्थिरताबारे संकेत गर्दै उहाँले कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य रहेको बढाउनुभएको थियो ।

कांग्रेस काठमाण्डो क्षेत्र नम्बर–२ को क्षेत्रीय सम्मेलनको आज (शनिबार) उद्घाटन गर्दै उहाँले आउँदो निर्वाचनमा बहुमत ल्याउने पार्टी बनाउन एक भएर समझदारी र समन्वयका साथ काम गर्न पनि नेताहरूलाई सचेत गराउनुभयो । उहाँले घात, अन्तर्घात नगरी एक भएर एक्लै बहुमत ल्याउने अवस्था बनाउनुपर्ने उल्लेख गर्नुभयो । सभापति देउवाले पार्टीलाई मजबुत बनाएर लैजाने काममा ध्यान दिन पनि स्थानीय तहका कार्यकर्ताले समझदारीका साथ काम गर्नुपर्ने बताउनुभयो ।