उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदै, कुन दलबाट को को छन् उम्मेदवार ?
काठमाडौं । वैशाख १५ मा हुने उपनिर्वाचनको लागि आज उम्मेदवारी मनोनयन हुँदैछ । इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनका लागि आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । आजै बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ ।
सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकेको छ । आइतबार अपराह्न ३ बजे उपरान्त चैत्र २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय हुने छ ।
चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता शालाकीराम शर्मा पौडेलले जानकारी दिनुभयो ।
चैत्र २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ । आयोगका अनुसार सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ।
निर्वाचन कार्यक्रमअनुसार २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
कुन दलबाट को को छन् उम्मेदवार ?
उपनिर्वाचनका लागि विभिन्न दलहरूले आफ्ना उम्मेदवार टुंगो लगाएको जनाएका छन्। नेकपा (एमाले)ले इलाममा सुहाङ नेम्बाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। नेपाली कांग्रेसले इलाममा डम्बरबहादुर खड्का र बझाङमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेकपा माओवादीले इलाममा एमालेका उम्मेदवारीलाई सघाँउने निर्णय गरेको छ । बझाङका विषयमा पनि माओवादीले कुनै निर्णय लिएको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले इलाममा मिलन लिम्बूलाई टिकट दिएको छ भने राप्रपाले लक्ष्मी गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। जसपाले प्रेमदिप थाम्सुहाङ र राप्रपा नेपालले गणेशबहादुर चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।