मदन भण्डारी फाउण्डेशनले रजत जयन्ती मनाउने
काठमाडौं । मदन भण्डारी फाउण्डेशनले आफ्नो २५ औँ स्थापना दिवस (रजत जयन्ती) विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउने भएको छ ।
फाउण्डेशनको शुक्रवार सम्पन्न केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकले आगामी असोज ५ गते फाउण्डेशनको रजत जयन्ती मनाउने निर्णय गरेको हो ।
फाउण्डेशनका कार्यवाहक अध्यक्ष उषाकिरण भण्डारीको अध्यक्षतामा केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा बसेको बैठकले जेठ ३ गते विभिन्न कार्यक्रमहरू गरी मदन-आश्रित स्मृति दिवस र असार १४ गते ७३ औँ मदन जयन्ती मनाउने निर्णय गरेको हो ।
“फाउण्डेशनको रजत जयन्ती र अन्य सबै कार्यक्रमको स्वरूप र तालिका हामी छिट्टै सार्वजनिक गर्नेछौँ ।” बैठकको निर्णयबारे जानकारी गराउनुहुँदै कार्यवाहक अध्यक्ष भण्डारीले बताउनुभयो ।
बैठकमा उपस्थित केन्द्रीय सदस्यहरूले प्रदेश अन्तर्गतका गतिबिधिहरूबारे जानकारी गराएका थिए ।
त्यसैगरी, मदन भण्डारी मेमोरियल कलेज, मदन भण्डारी मेमोरियल स्कुल, मदन भण्डारी बौद्धिक मञ्च लगायत स्वास्थ्य, सञ्चार, शिक्षा विभागसँग सम्बन्धित संयोजकहरूले आफू मातहतका प्रगति विवरण केन्द्रीय कमिटी समक्ष प्रस्तुत गरे ।
सो अवसरमा फाउण्डेशनको नवनिर्मित केन्द्रीय कार्यालयमा स्थापित ‘रेडियो श्वेत शार्दूल’ को पछिल्लो प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो ।
बैठकले फाउण्डेशनका सचिव सन्तोष रावलद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र सचिवालयका विभिन्न निर्णयहरू समेत पारित गरेको छ ।
मदन भण्डारी फाउन्डेसन एक गैरनाफामूलक सामाजिक संस्था हो । वि.सं. २०५६ सालमा ‘मदन भण्डारी अध्ययन तथा अनुसन्धान केन्द्र’को नाममा स्थापना भएको यो संस्था २०६१ सालदेखि ‘मदन भण्डारी फाउण्डेशन’को नामबाट देशव्यापी बनेको छ ।
फाउण्डेशनले जननेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्तलाई विभिन्न कोणबाट व्याख्या, विश्लेषण गर्दै समय सान्दर्भिक रूपमा विकास एवं प्रवर्द्धनको कामलाई अघि बढाउँदै आएको छ ।