
सरकारले श्रम अदालतको मुकाम काठमाण्डौमा रहने गरी तोक्ने
काठमाण्डौ । सरकारले श्रम अदालतको मुकाम काठमाण्डौ उपत्यकामा रहने गरी तोक्ने निर्णय गरेको छ ।
आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले श्रम अदालतको मुकाम काठमाण्डौ उपत्यकामा रहने भनिएकोमा त्यसको सट्टा श्रम अदालतको मुकाम काठमाण्डौ जिल्लामा रहने गरी तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
सरकारका प्रवक्ता समेत रहनुभएकी शर्माले श्रम अदालतको मुकाम काठमाण्डौमा रहने गरी तोक्ने सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले सरकारले राम राजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्राध्यापक डा.पशुपति चौधरी र सदस्य पदमा डा.वीरेन्द्रप्रसाद यादवलाई नियुक्ति गरेको जानकारी दिनुभयो ।
त्यस्तै सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सदस्य पदमा डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा छानबिन गर्न यथेष्ठ तथ्य, प्रमाण नभएकाले संसदीय समिति बनाएरै जानुपर्ने स्थिति नदेखिएको भन्दै संसदीय समिति नबनेकोसमेत मन्त्री शर्माले जानकारी दिनुभयो ।