
लुम्बिनीमा मुख्यमन्त्री पदबाट राजीनामा दिने डिल्लीबहादुर चौधरीको तयारी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिनुहुने भएको छ । सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन परेपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री चौधरीले पदबाट राजीनामा गर्न थालेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्रीले लुम्बिनी प्रदेशमा राप्रपा र नागरिक उन्मुक्ति पार्टीसहित साना दलको साथ लिएर सरकार जोगाउने प्रयास गरेपनि सफल हुन नसकेपछि राजीनामाको तयारी गर्नुभएको बुझिएको छ । उहाँ वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई वैशाख १९ मा विश्वासको मत लिनुभएको थियो । उहाँले आज बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गर्नुभएको छ ।सरकारको पक्षमा बहुमत नपुग्ने भएपछि राजीनामा दिने तयारी गर्नुभएको योजना आयोगका उपाध्यक्ष नहकुल केसीले जानकारी दिनुभयो ।
यस विषयमा निर्णय गर्न मुख्यमन्त्री चौधरीले नेपाली काङ्ग्रेस संसदीय दलको बैठक बोलाउनुभएको छ । उहाँले राजीनामा गर्ने भएपछि लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुल्नेछ । नयाँ गठबन्धनमा लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) लाई मुख्यमन्त्री दिने सहमति भएको छ ।
माओवादीले मुख्यमन्त्री पाए माओवादी संसदीय दलका नेता रोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य जोखबहादुर महरा मुख्यमन्त्री बन्नु हुनेछ । नयाँ गठबन्धनको नेतृत्वमा भने बहुमत पुग्ने देखिएको छ ।