समाजवादको आधार तयार गर्न सत्ता उलटफेर गरेँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार गर्नकालागि आफूले सत्ता उलटफेर गरेको बताउनुभएको छ ।

समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक राजधानीमा मंगलबार आयोजित अन्तरक्रियामा उहाँले विगतको गठबन्धनबाट सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सम्भव नदेखेपछि सत्ता फेरबदल गरेको बताउनुभएको हो ।

दाहालले हालै कांग्रेससँगको समीकरण टुटाएर एमालेसहितका चार दलीय गठबन्धन गर्नुभएको थियो । गठबन्धनमा सरकारको नेतृत्व गरेको माओवादीलाई एमाले, जसपा र रास्वपाले सघाएका छन् । नयाँ गठबन्धन आवश्यक रहेकोमा दाहालले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको आर्थिक विकास र समृद्धि साथै जनतालाई दिएको आशा पुरा गर्न जुनगतिका साथजानुपथ्र्यो,त्यो गति विगतको गठबन्धनबाट सम्भव नदेखेपछि मैले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसँगै समाजवादको आधार तयार गर्न गठबन्धन परिवर्तन गरेको हुँ । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि, यी तीन वटा विषयलाई गहिरिएर अध्ययन गर्ने हो भने नेपाली विशेषताका आधारमा समाजवाद तयार गर्ने कुरा अन्तरनिहित छ ।’

विभिन्न चुनौतीकाबीच आफू प्रधानमन्त्री भएको उल्लेख गर्दै दाहालले विद्यमान धेरै सीमा र बाध्यताका बाबजुद भ्रष्टाचारविरुद्धको अभियान चलाउने जमर्को गरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘थुप्रै चुनौतीकाबीचबाट यो पटक म प्रधानमन्त्री भएर सुशासन, सामाजिक न्याय र समृद्धिको कोणबाट कामको सुरुवात गरेको थिएँ । सरकारी जग्गा व्यक्तिको नाममालैजाने प्रवृतिलाई प्रहार गर्ने, तस्करीको प्रवृतिलाई प्रहार गर्ने जमर्को मैले गरेँ ।’

समाजवादको आधार तयार पार्ने विषय कम्युनिष्ट एकताबाट मात्र सम्भव रहेको उहाँको भनाइ छ ।