समीर बलामीलाई फोनिज कार्यवाहक महासचिवको जिम्मेवारी

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले सचिव समीर बलामीलाई कार्यबाहक महासचिवको जिम्मेवारी प्रदान गरेको छ । महासचिव मिलन लिम्बू केही समय यतादेखि राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिक गतिबिधिमा आवद्ध हुनुभएकाले आज बसेको सचिवालय बैठकले बलामीलाई कार्यवाहक तोकेको हो ।

महासचिव लिम्बूले वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेपनि पदबाट राजिनामा नदिएकाले सचिवालयको चैत १८ गतेको बैठकले मार्गप्रसस्त गर्न जानकारी गराएको छ ।

त्यसैगरी, सचिवालय बैठकले आगामी वैशाख ९ गते नेपाल पत्रकार महासंघको ७३ औं स्थापना दिवस भव्य रूपमा मनाउन आफ्ना देश विदेशमा रहेका समितिहरूलाइ परिपत्र समेत गरेको छ ।  यसबाहेक नेपाल पत्रकार महासंघका शाखाहरु, पत्रकारजन्य सबै संघ संस्थाहरूलाई समेत उक्त दिन स्थापना दिवस मनाउन फोनिजले अपील गरेको छ

सत्यनारायण बहादुर श्रेष्ठले पहिलो पटक २००८ साल वैशाख ९ गते नेपाल पत्रकार महासंघको स्थापना गरेको दिनलाई आधिकारिक दावी गर्दै फोनिज लामो समयदेखि आन्दोलनमा छ ।

संस्थापक अध्यक्षको दावी निरूपण गर्न नेपाल पत्रकार महासंघले आलटाल गरेकोप्रति संकेतगर्दै आज बसेको फोनिज सचिवालय बैठकले आबश्यक थप आन्दोलनको लागि तयारी अवस्थामा रहन सबै शाखा र फोनिजकर्मी तथा शुभेच्छुकहरुलाई आव्हान गर्ने निर्णय गरेको छ ।