बाबर आजम फेरि पाकिस्तान क्रिकेट टिमको कप्तान नियुक्त

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बाबर आजमलाई पुनः पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ । यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ ।

गएको वर्ष भारतमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानी टिम सेमिफाइनलमा प्रवेश गर्न नसकेको भन्दै बाबरले सबै फम्र्याटका क्रिकेटबाट कप्तानी छोडेका थिए । यसअघि अन्तरिम व्यवस्थाका रूपमा टी–२० क्रिकेटका लागि तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । शन मसूदलाई टेस्ट क्रिकेटको कप्तान बनाइएको थियो ।

कप्तानको फेरबदल र मुख्य प्रशिक्षक मिक्की आर्थरलाई पनि हटाएपछि पाकिन्तानी टोली अस्ट्रेलियामा सम्पन्न टेस्ट क्रिकेटमा ३–० र न्युजिल्यान्डमा सम्पन्न टी–२० क्रिकेटमा ४–१ ले पराजित भएको थियो ।

अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटअघि पाकिस्तानले अब बाबरको कप्तानीमा न्युजिल्यान्ड, आयरल्यान्ड र इङ्ग्ल्यान्डसँग टी–२० क्रिकेट खेल्दैछ ।