तस्करी र राजश्व चुहावट नियन्त्रणमा मन्त्रालय निर्मम रहेको गृहमन्त्री लामिछानेको भनाइ
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएको बताउनुभएको छ ।
आज (शनिबार) इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सीमा वा विमानस्थलमा जहाँ भएपनि तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालयले निर्मम भएर काम गरिरहेको दाबी गर्नुभयो ।
उहाँले आम नागरिकको शान्ति सुरक्षा आफूको चासोको विषय रहेको बताउनुभयो । उहाँले इलाममा लागूऔषधमा निकै ठुलो समस्या र चुनौती रहेको बताउनुभयो । उहाँले इलाममा डरलाग्दो आत्महत्याको तथ्याङ्क आएको भन्दै यसमा अध्ययन नै गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले स्थानीय र राष्ट्रिय चुनौतीहरूसँग जुध्नको लागि सबै प्रतिवद्ध हुन जरुरी रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री लामिछानेले राजनीतिको भविष्यको प्रवाह नगरी सिङ्गो देशको भविष्यको ध्यान राखेर काम गर्ने प्रतिवद्धताका साथ आफूहरू सरकारमा आएको बताउनुभयो ।