मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला : आयरल्यान्ड वुल्भ्सले दियो २२३ रनको लक्ष्य

काठमाण्डौ । मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा आयरल्यान्ड वुल्भ्सबाट नेपाल ‘ए’ ले २२३ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको वुल्भ्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२२ रन बनाएको होे ।

आयरल्यान्ड वुल्भ्सका पेठर मुरले ४९ रन बनाए । अर्धशतक बनाउन एक रनले चुकेका मुरले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । २–१ को कठिन अवस्थाबाट मुरले दोस्रो विकेटका लागि केड कार्माइकलसँग ८८ रनको साझेदारी गर्दै वुल्भ्सको इनिङ उकासेका हुन् ।

कार्माइकलले २९ बलमा चार चौका र एक छक्कासहित ३८ रन बनाए । कपन नेइल रकले २३ बलमा एक चौका र तीन छक्कासहित ३८ रन नै थपे । स्टेफन डोहेनीले ३४, ग्यारेथ डेलानीले ३० रन बनाउन गाभिन होइले १८ रन जोडे ।

नेपालका कमलसिंह ऐरीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका कमलले ३९ रन खर्चिए । चोटका कारण दुई वर्षपछि टिममा पुनरागमन गरेका कमलले इनिङको दोस्रो बलमै विकेट लिएका थिए ।

कीर्तिपुरमै दुई वर्षअघि भएको मलेसियाविरुद्धको खेलमा कमलको क्ल्याभिकल बोन (ब्युटी बोन)मा चोट लागेको थियो । त्यसयता मैदानबाट बाहिर रहेको कमलले वुल्भ्सविरुद्ध कप्तान विनोद भण्डारीबाट इनिङको पहिलो ओभरमा नै बलिङ गर्ने अवसर पाएका थिए । यसबाहेक, सागर ढकाल र आरिफ सेखले समान एक विकेट लिए ।