नेपाली क्रिकेटले विश्वकप यात्रा गर्नु सबैभन्दा खुशीको क्षण : प्रशिक्षक देसाइ
काठमाण्डौ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गर्दै नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताउनुभएको छ । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग टी–२० प्रतियोगिता खेल्ने जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा प्रशिक्षक देसाईले पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आउँदा वर्ष पनि राम्रो रहने विश्वास व्यक्त गर्नुभयो ।
नेपालले विश्वकप अगाडि संयुक्त अरब इमिरेट्स (यूएई) मा एसीसी प्रिमियर लिग तथा भारतका बरोडा र गुजराजतको टोलीसँग एसएमएस फ्रेन्डशिप कप खेल्दैछ । त्यही प्रतियोगिता अगाडिको बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक देसाईले भारतमा हुने प्रतियोगिता नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । यो प्रतियोगिताका लागि क्यानले पनि धेरै मेहनत गरेको उहाँको भनाइ छ । देसाईले पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आउँदा वर्ष पनि राम्रो रहने विश्वास व्यक्त गर्नुभयो ।
फ्रेन्डशिप कप यही मार्च ३१ देखि अप्रिल ७ सम्म हुनेछ । नेपालले मार्च ३१ र अप्रिल ३ मा गुजरात तथा अप्रिल २ र ५ मा बरोडासँग खेल्नेछ । लिग चरणमा एकअर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि खेल्नेछन् । टी–२० विश्वकप आउँदो जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । समूह ‘डी’ मा नेपाल, दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन् ।