सहकारी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको गृहमन्त्री लामिछाको प्रष्टीकरण

काठमाण्डौ । सहकारी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रष्टीकरण दिनुभएको छ ।

आज बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले सहकारीमा आफ्नो नाम जोडिएको तर त्यसलाई पुष्टि गर्ने कुनै तथ्य नरहेको बताउनुभएको हो । उहाँले सहकारी प्रकरणमा आफूविरुद्ध दिएको जाहेरी दर्तासमेत नभएको जिकिर गर्नुभयो ।

सुशासन समितिको बैठकमा सांसदले पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनाको विषयमा प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री लामिछानेले सूर्यदर्शन सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नता नभएको जिकिर गर्नुभयो ।

सूर्यदर्शन सहकारीपीडितले लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा माघ २२ गते जाहेरी दिएका थिए । त्यसमा लामिछानेसँगै अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनलाई विपक्षी बनाइएको थियो । दिपेश भने सहकारी ठगी मुद्दामा पक्राउ परिसकेका छन् । सूर्यदर्शन सहकारीपीडितले दिएको उजुरीमा एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ ।

यस्तै बैठकमा प्रहरी महानिरीक्षक आईजीपी बसन्त कुँवरले पनि सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताउनुभयो । उहाँले सूर्यदर्शन सहकारी ठगीको मुख्य व्यक्ति संस्थापक अध्यक्ष जीबी राई भएको बताउँदै राईलाई पक्राउ गरे स्वदेश ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

राई मलेसियामा रहेको खुलेको र उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोल बाट रेड नोटिस जारी भइसकेको तर सुर्पुदगी सन्धि नभएकाले राईलाई पठाउन मलेसिया बाध्य नभएकाले समस्या रहेको आईजीपी कुँवरले बताउनुभयो ।