माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा छुटे

काठमाडौँ।  सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ ।

शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो ।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सरकारी वकिलको कार्यालयको रोहबरमा महरालाई छाडिएको हो । उक्त प्रकरणमा महरामाथि छानबिन भने जारी रहने ती अधिकारीले बताए ।

महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै गएका उनलाई रूपन्देही प्रहरीले पक्राउ गरेको थियो । स्वास्थ्य अवस्था कमजोर भएका कारण उनी नर्भिक अस्पतालमा उपचाररत छन् ।