सत्तारुढ पाँच दलद्वारा न्यूनतम साझा संकल्प सार्वजनिक
काठमाण्डौ । सत्तारुढ पाँच दलले न्यूनतम नीतिगत प्राथमिकता साझा संकल्प सार्वजनिक गरेको छ । सिंहदरबारमा आयोजित कार्यक्रममा सरकारको न्यूनतम नीतिगत प्राथमिकता साझा संकल्प सार्वजनिक गरिएको हो । गठबन्धनको तर्फबाट गठन १० सदस्यीय कार्यदलका संयोजक विष्णु पौडेलले पाँच दलको साझा प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव रहनुभएको छ । नयाँ समीकरण बनेपछि गठित सरकारले गर्ने अर्थतन्त्र सुधार, सुशासनदेखि नागरिकमा देखिएको निराशा अन्त्य गर्नेगरी काम गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै, सरकारले वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । सत्तारुढ पाँच दलको न्यूनतम साझा संकल्प सार्वजनिक गर्दै कार्यदलका संयोजक बिष्णु पौडेलले वित्तीय संस्थालाई विसंगति मुक्त बनाउने बताउनुभयो । हाललाई बचत तथा ऋण कारोबार गर्ने संस्थाको दर्ता र कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृति बन्द गर्ने र लघुवित्तका ऋणीहरूको कर्जा पुर्नतालिकीकरण तथा पुर्नसंरचनाको व्यवस्था गर्ने बताउनुभयो ।