उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार : आज बस्ने बैठकले थप निष्कर्ष निकाल्ने

काठमाण्डौ । सुन तस्करी प्रकरणको छानबीन गर्न उच्चस्तरीय समिति बनाउन सरकार तयार भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा हिजो (सोमबार) राति सिंहदरबारमा बसेको संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको बैठकमा उच्चस्तरीय समिति बनाउन सरकार तयार भएको हो ।

बैठकले सत्ता साझेदार र प्रतिपक्षी दलका नेता सम्मिलित समिति गठन गर्ने सहमति गरेको हो । समितिको मोडालिटी तय गर्न तीन सदस्यीय कार्यदल बनाइएको छ ।
कार्यदलमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे हुनुहुन्छ ।

आज दिउँसोसम्म कार्यादेशको मस्यौदा तयार पार्ने गरी दलहरुबीच सहमति जुटेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बताउनु भएको छ ।शीर्ष नेताको बैठक आज दिउँसो २ बजे बस्ने तयारी छ ।

आज बस्ने बैठकले कसरि अगाडि बढ्ने भन्ने निष्कर्ष निकाल्ने बुझिएको छ । यो सँगै छलफल सकारात्मक भइरहेकाले आजको बैठकपछि संसद्को गतिरोध हट्ने नेताहरुको विश्वास छ । आज प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेका लागि राखिएको छ । यस्तै, राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवलगायत सहभागी हुनुहुन्थ्यो । यसअघि आइतबार पनि राष्ट्रिय दलहरुको बैठक बसेकोमा विना निष्कर्ष सकिएको थियो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद बैठकमा माग गर्दै आएको थियो । सत्ता पक्षले भने उच्चस्तरीय समितिको आवश्यकता नरहेको भन्दै सीआईबीले नै अनुसन्धान गर्ने अडान राख्दै आएको थियो । एमालेको अडानप्रति सत्तापक्ष असहमत भएपछि सरकारकै आग्रहमा सभामुख देवराज घिमिरेले पटक-पटक बैठक सार्नुभएको थियो ।

राजश्व अनुसन्धान विभागले गएको साउन ३ मा भन्सार जाँचपासबाट बाहिरिएको सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । सुन तस्करी प्रकरणको सिआइबीले छानबिन गरिरहेको छ ।

६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा अहिलेसम्म २३ जना पक्राउ परेका छन् ।