काठमाण्डौ महानगरले विभिन्न ठाउँहरूको प्राचीन नाम पुनरुत्थान गर्दै

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले विभिन्न ठाउँहरूको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया सुरु गरेको छ ।

काठमाण्डौ महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्कतले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व भएका टोल, बस्ती, मठमन्दिर, वहाल, ढुङ्गे धारा, सत्तल, पाटीहरूको प्राचीन नाम खोज्ने, संस्कृतिविद्, पुरातत्त्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग नाम पुष्टि गर्ने काम पूरा गरेकोे जानकारी दिनुभयो ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यका विभिन्न ठाउँहरूको प्राचीन नाम अध्ययन गरेको हो । अध्ययनका क्रममा ७० वर्षभन्दा बढी उमेरका बासिन्दाले ठाउँको प्राचीन नाम उच्चारण गर्ने गरेको पाएको महानगरपालिकाले जनाएको छ । केही नामहरू अप्रभंश भएका छन् भने केहीको नामहरू नेपालीकरण र अङ्ग्रेजीकरण पनि भएका छन् ।

सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामाकरण भएपछि नामबाट झल्किने सहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक पहिचान मेटिँदै गएकोले प्राचीन नाम खोजी गरेको उहाँले बताउनुभयो । अहिले प्रचलनमा रहेका नाम र प्राचीन नाम फरक हुने भएकोले अब प्राचीन नाम प्रयोगका लागि स्थानीय समुदायसँग अनुरोध गर्ने संयोजकसङ्कतको भनाइ छ ।