उदयपुर जीप दुर्घटनाप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दुखः व्यक्त

काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (बिहीबार) उदयपुरको मैनामैनीमा भएको जीप दुर्घटनामा परी ८ जना यात्रुले ज्यान गुमाएकोमा दुःख व्यक्त गर्नुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत पूर्व राष्ट्रपति भण्डारीले दुर्घटनामा निधन भएका यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।

उहाँले दुर्घटनामा ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गर्दै  घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

“यस्ता सडक दुर्घटनालाई न्यूनीकरण गर्न सवारी साधन, सडक र चालकहरूको अवस्था र दक्षतालाई पनि मूल्याङ्कन गर्न राज्यले गम्भीर ध्यान दिन जरूरी छ,” उहाँले लेख्नुभएको छ ।

आज दिउँसो धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको जीप उदयपुरको बेलका–७ मैनामैनीमा दुर्घटना भएको थियो । जीपमा क्षमताभन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । सात जनाको घटनास्थलमै र थप एक जनाको उपचारका क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका नौ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय घोरेटारबाट सात र हसनपुरबाट पाँच गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाएको उदयपुर प्रहरीले जनाएको छ ।