प्रधानमन्त्री पुष्पकमल दाहालले आज तेस्रोपटक विश्वासको मत लिँदै

काठमाण्डौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्बाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

गएको वर्ष २०७९ पुस १० गते एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका समर्थनमा प्रधानमन्त्री भएपछि उहाँले पुस २६ गते संसदमा विश्वासको मत लिनुुभएको थियो । त्यसबेला प्रतिपक्षमा रहेको नेपाली कांग्रेस र एकीकृत समाजवादीसहितका सबै दलले उहाँलाई समर्थन गरेका थिए ।

त्यसपछि राष्ट्रपति चुनावमा प्रधानमन्त्रीले कांग्रेस लगायतका दलसँग गठबन्धन गरेपछि एमाले, रास्वपा र राप्रपाले सरकार छोड्दै समर्थन फिर्ता लिएका थिए । त्यसपछि गएको वर्ष चैत ६ गते प्रचण्डले दोस्रोपटक संसद्मा विश्वासको मत लिनुुभयो । अहिले फेरि कांग्रेससँगको गठबन्धन भत्काएर नयाँ बनाएपछि उहाँले तेस्रोपटक विश्वासको मत लिन लाग्नुुभएको हो ।

अहिले प्रधानमन्त्रीलाई एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादीको समर्थन छ ।

प्रतिनिधि सभामा अहिले कायम २७४ सदस्यीयमा बहुमत सिद्ध गर्न १३८ सदस्य आवश्यक पर्छ । पाँच दलीय गठबन्धनसँग प्रतिनिधिसभामा १५३ सदस्य छन् । एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् ।

नेपाली कांग्रेसले विपक्षमा मत दिन सांसदलाई ह्विप लगाएको छ ।