प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदित

काठमाण्डौ ।  आज सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ ।

आज (सोमबार) संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका ज्येष्ठ सदस्य सभापति पशुपति समशेर जबराका अनुसार योग्यता, क्षमता र अनुभव समेतलाई आधार बनाई समितिले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

यसअघि बसेको समितिको बैठकमा प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठले आफ्नो भावी कार्ययोजना समिति समक्ष पेस गर्नुभएको थियो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले गत साउन २० गते उमेरहदका कारण सेवाबाट अवकाश लिएपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश श्रेष्ठलाई संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

संसदीय सुनुवाई समितिले अनुमोदन गरेसँगै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।