सीआईबीले माधव नेपाल र डा बाबुराम भट्टराईसँग बयान लियो : आजनै अनुसन्धान प्रतिवेदन बुझाउँदै

काठमाण्डौ ।  चौतर्फी दबाब पछि ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएको छ र आजनै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता (एसपी) नवराज अधिकारी अनुसार आज (सोमबार) अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारी भएकोे बताउनु भएको छ ।

प्रतिवेदन बुझाउनुअघि ब्युरोले पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा बाबुराम भट्टराईसँग बयान लिएको हो । यसअघि सीआईबीले डा भट्टराई र माधव नेपालको बयान नलिई छानबिन प्रतिवेदन बुझाउने तयारी गरेको थियो ।

बालुवाटार सरकारी जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ सहित १८ जना हिरासतमा छन् भने ७ जना पक्राउपछि रिहा भएका छन् । हिरासतमा भएकाहरूलाई थुनामा राख्न अदालतले दिएको म्याद आइतबार सकिएसँगै सोमबार म्याद थप्न लागिएको हो ।

सीआईबीले उक्त जग्गा प्रकरणमा ४ सयभन्दा बढीको संलग्नता रहेको बताएको छ । पक्राउ पुर्जी जारी भईसकेका पूर्वमन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय साह टकलालाई भने फरारको सूचीमा राखिएको छ ।