
नेपाल र हङकङबीचको खेल रद्द, दुवैले समान अङ्क बाँडे
काठमाण्डौ । आज (आइतबार) भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
हङकङको मोङ कोक मैदानमा आज टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली हङकङले आठ ओभरमा दुई विकेको क्षतिमा ६५ रन बनाउँदा दोस्रो पटक पानी परेपछि खेल रद्द गरिएको हो । यसअघि पाँचौँ ओभरका खेल सकिँदा पनि पानीका कारण खेल रोकिएको थियो ।
खेल रद्द भएसँगै नेपाल र हङकङले समान एक एक अङ्क बाँडेका छन् । यस सिरिजमा नेपाल, हङकङ र पीएनजी रहेको छ । नेपालले दोस्रो खेल मङ्गलबार पीएनजीसँग खेल्नेछ ।
यस सिरिजअघि नेपालले हङकङसँग शनिबार टी–२० फ्रेन्डसिप कप खेलेको थियो । जसमा नेपाल ७३ रनले पराजित भएको थियो ।