आज महाशिवरात्री पर्व, कस्तो छ ट्राफिक डाईभर्सन ?
काठमाण्डौ । आज महाशिवरात्री देशभर शिवको पूजा–आराधना गरी मनाइँदैछ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व भगवान् पशुपतिनाथसहित देशभरका अरु शिव मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ । बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति विकास कोषले जनाएको छ ।
पशुपतिमा महाशिवरात्रीमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । यस वर्षको महाशिवरात्रीमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएकोछ । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरूपमा निषेध गरिएको छ ।
आज पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, झन्डै छ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन हुनेछन् ।
त्यसैगरी महाशिवरात्री पर्वको अवसरमा गौशालाको पाशुपत क्षेत्रमा हिजै रातीदेखि नै दर्शनार्थीहरूको भिडभाड भएकाले आवश्यकता अनुसार गाडीलाई डाईभर्सन गरिएको छ । गौशाला क्षेत्रतर्फ जाने गाडीलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
त्यसैगरी मालवाहक गाडीहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाईभर्सन गरिएको छ ।
गौशाला क्षेत्रमा आज गरिने ट्राफिक व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पूर्ण चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले अनुरोध गर्नुभएको छ ।