नागको पूजाअर्चना गरी आज नागपञ्चमी पर्व मनाइँदै
काठमाण्डौ । आज नागको पूजा अर्चना गरी नागपञ्चमी पर्व मनाइँदै छ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा टाँसेर यस पर्व माउने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा. देवमणि भट्टराइका अनुसार यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहीआएको छ ।
यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।
बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।