सुनसरी प्रशासनले नाकामा राष्ट्रिय झण्डा अभियान अघि बढायो
जिल्ला प्रशासन कार्यालय सुनसरीले भारतसँगको सीमा जोडिएका ६२ किलोमिटर क्षेत्रका भूभागमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ ।
कोशी ब्यारेज नजिकैको भाण्टाबारी तीनकुने क्षेत्रबाट औपचारिक रुपमा सुरुवात गरिएको अभियानलाई नाकाको सबै क्षेत्रमा क्रमशः अघि बढाइने सुनसरी प्रशासनले जनाएको छ ।
नेपाली भूमि जो कोहिले टाढाबाट चिन्न सकुन् भन्ने उद्देश्यकासाथ सीमामा राष्ट्रिय झण्डा राख्ने निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो ।
उहाँले भारतसँग सीमा जोडिएको सुनसरी तर्फको ६२ किलोमिटर नाका क्षेत्रका हरेक प्वाइन्ट, बीओपी सहितका सुरक्षा निकायका पोष्ट र खुला रुपमा रहेका हरेक नाकामा राष्ट्रिय झण्डा राखिने बताउनुभयो ।
नाकामा राष्ट्रिय झण्डा अभियान अघि बढाएको सुनसरी प्रशासनले दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले नेपाली भूमितर्फ बनाएका केही सुरक्षा पोष्ट समेट हटाइएको जनाएको छ । नाकाका समस्या र स्थानीयका गुनासोबारे दुई देशीय सुरक्षा बैठकमा कुरा उठाउने समेत जनाएको छ ।
नाका क्षेत्रमा भारतीय पक्षले यस अघिबाट नै आफ्नो क्षेत्रमा झकिझकाउ पार्ने र आफ्नो देशको उपस्थिति दर्शाउने क्रियाकलाप गर्दै आएको छ । नेपालतर्फको सुनसरीको भूभागमा भने राष्ट्रिय झण्डा अभियान सुनसरी प्रशासनको पहिलो कदम हो । जसलाई स्थानीयवासीले पनि स्वागत गरेका छन् ।