राष्ट्रिय मान्यताप्राप्त दलका नेतासँग प्रधानमन्त्रीले छलफल गर्ने

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यताप्राप्त दलका नेतासँग छलफल गर्ने हुनु भएको छ । जारी सदनको अवरोध खुलाउने लगायत समसामयिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाले छलफल गर्न लाग्नु भएको हो ।

अहिले साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सदनको अवरोध खुलाउनेलगायतका विषयमा राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूसँग प्रधानमन्त्रीले छलफल गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनु भएको छ ।

बैठकमा मुख्यगरी सदन सुचारु गर्ने विषयमा केन्द्रित भई छलफल हुने बताइएको छ । त्यसबाहेक ललिता निवास, सुन प्रकरणको छानबिनलगायतको विषयमा पनि छलफल हुन सक्ने बताइएको छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । तर, एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।