त्रिदेशीय टी–२० शृङ्खलामा नामिबियाविरुद्ध नेपालको पहिलो जित

काठमाण्डौ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नामिबियालाई ३ रनले हराउदै नेपालले पहिलो जित हात पारेको छ ।

नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रनमात्र बनाउन सक्यो । नामिबियाका कप्तान जेजे स्मिटले ५० रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अर्धशतक बनाए । मल्लले ३७ बलमा नट आउट ५५ रन बनाए । नामिबियाका बेन शिकोङ्गोले ३ विकेट लिए ।

शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । यस्तै बुधबारको खेलमा नेपाल नेदरल्यान्ड्सँग २ रनले हारेको थियो । नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ भने नेपाल २ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । नामिबिया २ अङ्क भए पनि नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ ।