‘बिपिसी ह्याकफेष्ट’का विजेता टोलीलाई कलेजले दियो शुभकामना
काठमाण्डौ । मधेश प्रदेशले पहिलो पटक आयोजना गरेको ‘बिपिसी ह्याकफेष्ट’ कार्यक्रममा मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थीहरु विजेता भएका छन् ।
सोमबार कलेजमा आयोजित कार्यक्रमकाबीच विजेता टोलीलाई बधाइ तथा शुभकामना दिइएको थियो ।
कलेजमा बिएस्सी सिएस् आइटी संकायमा अध्ययनरत विद्यार्थीहरु– फेमस ढुंगाना, फिरोज भण्डारी, मिराज भट्टराई र सुबोध घिमिरेको समूह ‘एफ् एम् एस्’ पहिलो भएको हो ।
बिरगंज पब्लिक कलेजले फागुन ३ देखि ५ गतेसम्म आयोजना गरेको सो कार्यक्रममा ४७ वटा समूहले प्रतिस्पर्धा गरेका थिए । जसमध्य ९ वटा समूह फाइनलमा पुगेका हुन् । कुल ४८ घण्टासम्म चलेको सो ह्याकाथन कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गरे ।
त्यसैगरी, युवा संगठन कोड फर चेन्जले लुम्बिनी प्रदेशमा पहिलो पटक आयोजना गरेको टेक कन्कलेभमा ‘एफ् एम् एस्’ को समूह पहिलो भएको छ । प्रतियोगितामा कुल ११ समूहले एक अर्कासंग प्रतिस्पर्धा गरेका थिए ।
प्रदेशस्तरीय प्रतियोगीतामा पहिलो भएकोमा बधाइ दिदैँ क्यामपस प्रमुख डा.बाबुराम अधिकारीले भविष्यमा राष्ट्रियस्तरमै राम्रो नतिजा ल्याउन विद्यार्थीहरुलाई हौसला प्रदान गर्नुभयो । आगामी दिनमा नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट)संग सहकार्य गरी विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उहाँले बताउनुभयो ।
स्कूल अफ साइन्स एण्ड टेक्नोलोजीका प्रमुख फूलबाबू झाले विद्यार्थीहरुको सफलताले आफू हर्षित भएको र प्राविधीक क्षेत्रमा विद्यार्थीहरुको सहभागीतालाई निरन्तर साथ दिने उल्लेख गर्नुभयो ।