उच्चस्तरीय छानबिन आयोग गठन गर्न तयार भए सदनको गतिरोध अन्त्य हुन्छ : महासचिव पोखरेल
काठमाण्डौ । सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनको गतिरोध अन्त्य हुने एमाले महासचिव शङ्कर पोखरेलले बताउनुभएको छ ।
आज वीरगञ्जमा प्रेस चौतारी पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एमालेले उठाएका माग सम्बोधन गर्न तयार भए संसद् सञ्चालन हुने धारणा राख्नु भएको थियो ।
साथै उहाँले सुन तस्करी प्रकरणलगायतका विषयमा छानबिनका लागि आयोग गठन गर्न सत्तापक्ष तयार नहुँदा सदनको अवरुद्ध जारी रहेको बताउनु भएको छ ।
राज्यका सुरक्षा निकायप्रति आफूहरुको कुनै आशङ्का नरहेको उल्लेख गर्नुहुँदै पोखरेले सुन तस्करी प्रकरणमा सत्तापक्षकै कतिपय ठूला नेताहरु मुछिएकाले घटनाको स्वच्छ र निष्पक्ष छानबिन हुनेमा आशङ्का उब्जिएकाले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको स्पष्ट पार्नुभयो ।
दोषी नछुटोस् र निर्दोष नफसोस् भन्ने आफ्नो पार्टीको मान्यता रहेको बताउनुहुँदै ठूलो मात्रामा भित्रिएको सुनबारे सरकारले स्वच्छ, निष्पक्ष छानबिन गर्न दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
संसद्मा प्रतिपक्षका कुरा सुन्नै नचाहने, बोल्नै नदिने र कुरा उठाउनसमेत बन्देज लगाउने जस्ता कार्य गरिरहेकाले संसद् अवरुद्ध गर्नुपरेको स्पष्ट पार्नुहुँदै महासचिव पोखरेलले सत्तापक्षले प्रतिपक्षलाई अदृश्य रुपमा घेराबन्दीमा पार्दै आएको आरोप लगाउनुभयो ।