सदनमा एमाले- विवादित ३ मन्त्रीको राजीनामा वा बर्खास्तीको अडान कायमै

काठमाडौं । तीन मन्त्रीको राजीनामा अडान कायमै रहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजीनामा या बर्खास्तीको मागसहित सदनमार्फत् पुन: प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

जारी प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा  एमाले प्रमुख सचेतक पदम गिरीले मन्त्रीहरूको विषयमा आफूहरूले उठाएको सवालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनुपर्ने बताउनु भएको हो ।

बालकुमारी घटनामा सरकारी प्रतिवेदनले दोषी देखाएका भौतिक तथा पूर्वाधारमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियारको छानबिनमा परेका स्वास्थ्यमन्त्री मोहन बस्नेत, र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने पर्यटनमन्त्री सुदन किरातीको राजीनामा एमालेले निरन्तर सदनमा कुरा उठाउदै आएको छ ।

‘प्रतिपक्षले उठाएका विषय नसुन्ने गर्न खोज्दा विगतमा सदन अवरोध भएका छन् । विवादित मन्त्रीहरूबारे छिटोभन्दा छिटो प्रधानमन्त्रीले जवाफ दिनुहोस् । बदनीयत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई चाँडो बर्खास्त गरियोस् । प्रधानमन्त्रीले जवाफ दिनुपर्ने ठाउँमा बाहिरि हिँडिरहनुभएको छ । हामी देशका जल्दाबल्दा मुद्दा उठाएर आएका छौँ । मिटरब्याजीपीडित आन्दोलनमा छन् । उनीहरूको आवाज सुनिएको छैन’, गिरीले भने ।

आज उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।